१३ साउन,वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी प्रमुख (एसपी) सुदीप पाठकको सरुवा गरेको छ। पाठकको स्थानमा पवनकुमार भट्टराईलाई पर्साको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
भट्टराई यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत थिए। यस्तै, एसपी दानबहादुर थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा खटाइएको छ।
नारायणी अस्पताल, वीरगञ्जमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि पर्साका प्रहरी प्रमुखको सरुवा गरिएको हो।
गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज–२५ निवासी राजकुमार पटेलको मृत्यु भएपछि तनाव उत्पन्न भएको थियो। उपचारमा लापरबाही भएको आरोप लगाउँदै आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक डा. प्रमोद राममाथि आक्रमण गरेको थियो।
घटनापछि चिकित्सकहरूले दोषीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै आन्दोलन गर्दै आएका छन्। सोही घटनाको सुरक्षा व्यवस्थापन र अनुसन्धान प्रक्रियाका बीच पर्साका एसपीको सरुवा भएको हो।
