काठमाडौं । काठमाडौं उपत्यकाको सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले कडा अभियान सञ्चालन गरेसँगै पछिल्लो २४ घण्टामा मात्रै दुई हजार ३६५ सवारीचालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस कारबाहीबाट राज्यकोषमा कुल २१ लाख ७७ हजार ५०४ रुपैयाँ राजस्व दाखिला भएको छ ।
कार्यालयको पछिल्लो तथ्याङ्कले उपत्यकामा सवारी नियम उल्लङ्घन गर्नेहरूको संख्या अझै ठूलो रहेको देखाएको छ । सबै भन्दा बढी अन्य विविध नियम पालना नगर्ने १ हजार १२१ जना परेका छन् भने पछिल्लो समय नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने चालकहरू पनि ट्राफिकको निसानामा परेका छन् । २४ घण्टाको अवधिमा मात्रै २५८ जना राइडरहरूलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
सडक दुर्घटनाको मुख्य कारण मानिने मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी चलाउने ८८ जनालाई ट्राफिकले नियन्त्रणमा लिएको छ। त्यस्तै, सडकमा तीव्र गतिमा सवारी साधन हुइँक्याउने १७४ र सङ्केत बत्ती (ट्राफिक लाइट) उल्लङ्घन गर्ने १५६ जना चालक पनि कारबाहीको दायरामा आएका छन् ।
ट्राफिक प्रहरीले शहरको शान्ति र अनुशासन कायम गर्न निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा पार्किङ गर्ने १२४ र एकतर्फी (वान वे) सडकमा सवारी चलाउने १६३ जनालाई जरिवाना गराएको छ ।
यस्तै, लेन अनुशासन पालना नगर्ने १२३ जना चालक पनि कारबाहीमा परेका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न कारबाहीको प्रक्रियालाई थप तीव्रता दिइने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



