इलाम । घरदेखि पैदल १५ मिनेटको दूरीमा रहेको गाईगोठमा दीपेश मोदी र उनकी पत्नी सुशिला अधिकारी सधैंझैँ आइतबार बिहान पुगेका थिए । रगतले लत्पतिएको विभत्स अवस्थामा काली गाई लडिरहेको देखेर मोदी दम्पती स्तब्ध भए ।
गोठमा बाँधिएका अन्य ३ गाई र २ वटा बाछाबाछीलाई छोडेर काली गाईको घाँटीका पाँच स्थानमा धारिलो हतियार प्रहार भएको थियो टाउकोमा पनि गहिरो घाउ थियो । वडा प्रतिनिधि, पालिका र प्रहरीलाई तत्काल खबर गरियो ।
पशु चिकित्सकसहित घटनास्थलमा पुगेर पोस्टमार्टम गरी गाईको सद्गत गरिएको अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय पशुपतिनगरका निमित्त कार्यालय प्रमुख जीवनकुमार कार्कीले बताए । गौहत्याको अनुसन्धान तथा अभियुक्त खोजी कार्य भइरहेको उनले जानकारी दिए ।
इलामका जिल्ला प्रहरी प्रमुख एसपी कुलदीप चन्दले घटनाबारे सघन अनुसन्धान भइरहेको बताए । उनले भने, ‘गौहत्या अपराध हो । गर्भवती गाईको क्रूरतापूर्वक हत्या भएको छ । अनुसन्धानमा प्रहरीले कुनै पनि कसर बाँकी राख्दैन ।’
सामाजिक सञ्जालमा यतिबेला हत्याको चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गाईको हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
