२१ वैशाख, काठमाडौँ । सङ्घीय संसद्को कामकारबाहीलाई थप प्रभावकारी बनाउन र समसामयिक राजनीतिक विषयमा साझा समझदारी जुटाउन सभामुख डोलप्रसाद ९डीपी० अर्याल सक्रिय हुनुभएको छ ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्दै सभामुख अर्यालले सोमबार मध्यान्ह १२ बजे सिंहदरबारमा प्रमुख सचेतक र सचेतकहरूको विशेष बैठक बोलाउनुभएको हो ।
सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार, यो बैठक विशेषगरी संसद्को आगामी कार्यदिशा र दलहरूबीच देखिन सक्ने असमझदारीलाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको हो । सत्ता पक्ष र प्रतिपक्ष दुवैलाई एउटै टेबुलमा राखेर छलफल गर्दा संसदीय अभ्यास थप परिपक्व हुने विश्वास लिइएको छ ।
संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र (नेपाली कम्युनिस्ट पार्टी), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता शक्तिहरूको उपस्थिति रहेकाले सदनलाई बिजनेस दिने र नीतिगत बहसलाई तीव्रता दिने विषयमा यो बैठक निर्णायक हुने देखिएको छ ।
विशेष गरी महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने र जनसरोकारका मुद्दामा सदनमा एकमत हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सभामुख अर्यालले यो अग्रसरता लिनुभएको हो । सिंहदरबारमा हुने यस छलफलले संसद्को आगामी बैठकहरूलाई थप सौहार्दपूर्ण र उपलब्धिमूलक बनाउने अपेक्षा गरिएको छ ।



