काठमाडौं । आज मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस। ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा नेपालसहित विश्वभर यो दिवस विविध कार्यक्रम गरी मनाइँदै छ ।
सन् १९९३ मा नामिबियाको विन्डहकमा पत्रकार, प्राध्यापक र प्रेस स्वतन्त्रताका पक्षपातीहरूले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गरेको त्यो ऐतिहासिक प्रतिबद्धता आज पनि उत्तिकै सान्दर्भिक बनेको छ।
दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र पत्रकारितालाई लोकतन्त्रको अपरिहार्य आधारस्तम्भको संज्ञा दिएका छन्। उनले भने, “प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ।”
राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकारको मुख्य कडी भएको भन्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषणमा पत्रकारहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
उनले सूचना संकलनदेखि प्रवाह गर्नेसम्मको प्रक्रियामा पत्रकारलाई सुरक्षित वातावरण हुनुपर्ने उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको उपभोगमा कुनै पनि प्रकारको अवरोध नहुनुपर्ने बताए।
त्यसैगरी, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको मेरुदण्ड भन्दै यसको रक्षामा राज्य र सञ्चारजगत को समन्वय आवश्यक रहेको औँल्याए। संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रयोग गर्दै पत्रकारहरूले कुनै पनि प्रलोभन वा त्रासमुक्त भई ‘वाचडग’ (Watchdog) को भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आज देशभरि नै अन्तर्क्रिया, अन्तरसंवाद र प्रदर्शनका कार्यक्रमहरू आयोजना गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र पत्रकारको पेसागत सुरक्षाका लागि महासंघले विशेष जोड दिँदै आएको छ।
विन्डहक घोषणापत्रको मर्मलाई आत्मसात गर्दै आज नेपालमा पनि सञ्चारमाध्यमहरूले प्रेस स्वतन्त्रताका अवसर र चुनौतीबारे बहस गरिरहेका छन्। पछिल्लो समय प्रविधिको विकाससँगै मिथ्या सूचना र सञ्चारकर्मीमाथिका भौतिक तथा मानसिक दबाबका घटनाहरूले प्रेस स्वतन्त्रतामाथि नयाँ चुनौती खडा गरेका छन् ।
यस्तो परिवेशमा, प्रेस स्वतन्त्रता दिवसले पत्रकारिताको गरिमा जोगाउन र प्रेसलाई समाजको आवाज बनाउन अझ बलियो प्रतिबद्धताको माग गरेको छ।



