१७ बैशाख, कलैया (बारा) । यातायात व्यवस्था कार्यालय कलैयाले लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीहरूका लागि आज (वैशाख १७ गते) देखि सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) वितरण कार्य सुरु गर्ने भएको छ। यातायात व्यवस्था विभागबाट छपाइ भई प्राप्त भएका नयाँ, वर्ग थप, नवीकरण तथा प्रतिलिपि लाइसेन्सहरू वितरण गर्न लागिएको कार्यालयले जनाएको छ।
सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै कार्यालयले सार्वजनिक बिदाका दिनमा पनि वितरण कार्यलाई निरन्तरता दिने विशेष व्यवस्था मिलाएको छ। वैशाख १८ देखि २० गतेसम्म सार्वजनिक बिदा परे तापनि स्मार्ट लाइसेन्स वितरण कार्य भने नरोकिने यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख चिन्तन आचार्यले जानकारी दिए । उक्त अवधिमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालयको काउन्टरबाट नियमित रूपमा कार्ड वितरण गरिनेछ ।
स्मार्ट कार्ड लिन आउने सेवाग्राहीहरूले केही अनिवार्य प्रक्रिया पुरा गर्नुपर्ने कार्यालयले स्पष्ट पारेको छ । कार्ड बुझ्नका लागि सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने र साथमा पुरानो सवारी चालक अनुमति पत्र (यदि छ भने) वा राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा ल्याउनुपर्नेछ ।
विभागबाट ठुलो सङ्ख्यामा स्मार्ट कार्डहरू छपाइ भएर आएकाले क्रमिक रूपमा सबै सेवाग्राहीलाई वितरण गरिने कार्यालय प्रमुख आचार्यले बताए । लामो समयदेखि रसिदको भरमा सवारी चलाउँदै आएका बारा र आसपासका सेवाग्राहीहरू यो सूचनासँगै उत्साहित भएका छन् । कार्यालयले भिडभाड व्यवस्थापनका लागि तोकिएको समयभित्र सम्पर्क गर्न समेत सूचित गरेको छ ।



