१४ बैशाख, सिरहा । सिरहा नगरपालिका–२ स्थित लक्ष्मी चोक, सिरहामा देखिएको दृश्यले विकास निर्माणमा भएको गम्भीर लापरबाही उजागर गरेको छ। करिब ८ करोड रुपैयाँ लागतमा निर्माण गरिएका नालाहरूले स्थानीयलाई राहत दिनुको साटो उल्टै डुबानको समस्या निम्त्याएका छन्। सामान्य वर्षामा समेत सडक तालजस्तै बन्ने गरेको छ, जसले स्थानीयको दैनिकी कष्टकर बनाएको छ।
हिजो रातिदेखि आज बिहानसम्म परेको २९.२ मिलिमिटर वर्षापछि क्षेत्र पूर्ण रूपमा जलमग्न भयो। सडक नै नदेखिने गरी पानी जमेपछि सवारी आवागमन प्रभावित भयो भने स्थानीयवासी आफैं कोदालो बोकेर अस्थायी निकास बनाउन बाध्य भए।
स्थानीय राजकिशोर साह बनियाँ भन्छन्, “नाला बनेपछि समस्या हट्ला भन्ने थियो, तर झन् पानी घरभित्र पस्न थालेको छ। विद्यार्थीलाई विद्यालय जानै मुस्किल छ।” अर्का स्थानीय ललित साहका अनुसार सडकमा पानी जम्दा व्यापारी र सर्वसाधारण दुवै मारमा परेका छन्।
सडक डिभिजन कार्यालय लहानले आर्थिक वर्ष ०८१/८२ मा सडक तथा नाला निर्माणका लागि ८ करोड रुपैयाँको ठेक्का दिएको थियो। ‘भगवत ग्रुप कन्स्ट्रक्सन’ले १,१०० मिटर नालाका लागि ६ करोड र ‘बोहदर माई एबी–वीरगञ्ज’ले ५०० मिटरका लागि २ करोड रुपैयाँ भुक्तानी लिइसकेका छन्। तर निर्माणपछि पनि पानी निकास हुन नसक्नुमा प्राविधिक कमजोरी मुख्य कारण देखिएको छ।
कार्यालयका इन्जिनियर अस्विन यादवका अनुसार नालाको उचाइ सडकभन्दा माथि भएकाले पानी नालामा पस्न सकेको छैन। “नाला अग्लो र सडक तल भएकाले पानी सडकमै थुप्रिन्छ,” उनले भने। प्राविधिक रूपमा सडकभन्दा तल हुनुपर्ने नाला माथि निर्माण हुनु निर्माण गुणस्तर र सुपरीवेक्षणमाथि प्रश्न उठाउने विषय बनेको छ।
वडा नं. २ का अध्यक्ष राकेश यादवले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि सुनुवाइ नभएको गुनासो गरे। “जनताले हामीलाई गाली गर्छन्, तर जिम्मेवार निकाय मौन छ,” उनले भने।
यता, इन्जिनियर यादवले तत्कालका लागि अवरोध हटाउने र दीर्घकालीन रूपमा सडक स्तरोन्नति गर्ने प्रयास भइरहेको बताएका छन्। तर करोडौँ खर्चेर बनाइएको संरचनाले नै समस्या बढाएपछि स्थानीयवासीले निर्माण कम्पनीको लापरबाही र सरकारी कमजोरीमाथि छानबिन गरी छिटो प्राविधिक सुधार गर्न माग गरेका छन्।



