काठमाडौं । काठमाडौं उपत्यकामा बागमती र मनोहरा नदी किनारका अवैध संरचना हटाउन शुरु भएको छ । थापाथली नदी किनारमा बिहान साढे ८ बजेदेखि डोजर चलाउन थालिएको छ ।
बागमती करिडोरको थापाथली, टेकु, तीनकुने र सिनामङ्गल तथा मनोहरा क्षेत्रमा आज र भोलि अतिक्रमित क्षेत्र खाली गराउने सरकारको तयारी छ । यसअघि सरकारले अतिक्रमित क्षेत्र खाली गर्न हिजो बेलुकीसम्मको समय दिएको थियो ।
यसबीचमा केही सरसामान लिएर अन्यत्रै सरेका छन् भने जाने ठाउँ नभएकाहरू आफ्ना सामान कुरेर यत्रतत्र बसेका छन् । बस्ती हटाउन सहरी विकास मन्त्रालय र सडक विभागका डोजर र सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
अशक्त, अपाङ्गता भएका, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध वृद्धा र दीर्घ रोगीहरूलाई सुरक्षित आश्रय स्थलसम्म पुर्याउने व्यवस्था मिलाएको सरकारले जनाएको छ ।
प्रारम्भिक व्यवस्थापनका लागि विस्थापितलाई शुरुमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लगिनेछ । त्यहाँ विवरण सङ्कलन र स्क्रिनिङ हुनेछ । देशका कुनै पनि ठाउँमा तीन पुस्ताका नाममा घरजग्गा भएकाको पहिचान गरी घर पठाइनेछ ।
वास्तविक पीडितलाई आजै सरकारी सेल्टरमा स्थानान्तरण गरिनेछ । महानगरपालिकाले उनीहरूको खाना, स्वास्थ्य, शिक्षा र हेरचाहको जिम्मेवारी लिनेछ । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २३० परिवार बस्न मिल्ने भवन यसअघि नै निर्माण गरिएको थियो । यसरी व्यवस्थापन गरिएका बसोबासका क्षेत्रहरूमा हरेक परिवारलाई फोटोसहितको परिचयपत्र वितरण गर्ने तयारी छ ।
बस्ती खाली भइसकेपछि थापाथली लगायतका ठाउँको भत्केका संरचनाहरू हटाउने, ट्र्याक खोल्ने कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले तत्काल शुरु गर्ने जनाएको छ ।



