इस्लामिक देशहरूमा समेत प्रतिबन्धित रहेको तब्लिगी जमातले नेपालमा आफ्नो गतिविधि बढाउँदै गर्दा नेपालको सुरक्षामा चासो बढेको छ । बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका वडा नं.२४, हरपुर बलुवामा २०८३ वैशाख ११ देखि १४ गते सम्म मुस्लिम समुदायको यसै जमातद्वारा ‘इस्तेमा’ सम्मेलन हुन गइरहेको छ।
यसमा नेपाल र भारतबाहेक पाकिस्तान तथा बंगलादेशका मुस्लिम हरु पनि सहभागी हुने तयारी देखिएको छ। संसारका धेरै प्रतिबन्धित कट्टरपन्थी संगठनहरूको मुख्यालय रहेको देश पाकिस्तानबाट आउने सहभागीहरूको औपचारिक जानकारी र पूर्वसूचना सुरक्षा निकायसँग हुनुपर्ने जानकारहरू बताउँछन्।
त्यस्तै, पछिल्लो बिहारको विधान सभा चुनाव र आगामी पश्चिम बंगालको विधान सभा चुनावको सन्दर्भमा भारतको निर्वाचन आयोगले मतदाताहरूको सत्यापन गर्ने क्रममा त्यहाँ लाखौँको संख्यामा बंगलादेशीहरूको अवैध बसोबास खुलेको छ। यस्तो अवस्थामा खुला सिमानाको फाइदा उठाउँदै बंगलादेशीहरू नेपाल पस्ने प्रवृत्ति देखिएको छ।
पर्सादेखि झापासम्म विभिन्न स्थानमा सर्वसाधारणले त्यस्ता घुसपैठका प्रयास रोक्ने दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएको पाइन्छ। यस्तो पृष्ठभूमिमा इस्तेमामा बंगलादेशीहरू आउने वा नआउने विषय पारदर्शी हुनुपर्ने देखिन्छ।
अरबी भाषाको शब्द ‘इस्तेमा’को नेपाली अर्थ भेला हुनु हो। बारामा हुन लागेको ‘तब्लिगी’ इस्तेमा हो। ‘तब्लिगी’ शब्द पनि अरबी नै हो, जसको अर्थ प्रचार–प्रसार हो। विगत ४–५ वर्षदेखि नेपालको मधेश प्रदेशमा साम्प्रदायिक तनाव र अशान्ति बढ्दै गएको देखिन्छ। यहाँसम्म कि पछिल्लो चुनावका क्रममा पनि बारा तथा पर्सा जिल्ला साम्प्रदायिक तनावको चपेटामा परेको थियो।
एक सुरक्षा अधिकारीका अनुसार साम्प्रदायिक दंगालाई सिधै कुनै एक संगठनसँग जोड्न मिल्ने–नमिल्ने बहस हुन सक्छ, तर यसको क्रम कहिलेदेखि बढ्यो भन्ने विश्लेषण गर्दा धेरै कुरा स्पष्ट हुन्छ। सप्तरीको बोदेबरसाइन नगरपालिका–५, जाँजरमा सन् २०२० (वि.सं. २०७६) मा आयोजना गरिएको ‘आलमी तब्लिगी इस्तेमा’पछि तराई–मधेश क्षेत्रमा साम्प्रदायिक घटनाहरू तीव्र भएको तथ्य भेटिन्छ।
बोदेबरसाइन इस्तेमा, २०७६ पछि के भयो
२०७६ को बोदेबरसाइन इस्तेमा निकै चर्चामा रहेको थियो। यसमा नेपाल र भारतका विभिन्न स्थानबाट करिब २ लाखभन्दा बढी इस्लाम धर्मावलम्बीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको संवेदनशीलता र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै गृह मन्त्रालय र स्थानीय प्रशासनले विशेष सतर्कता अपनाएका थिए।
महत्त्वपूर्ण पक्ष विदेशी सहभागितामा लगाइएको रोक थियो। सुरुमा सरकारले कार्यक्रम नै रोक्ने निर्णय गरेको थियो। विशेषगरी पाकिस्तान, बंगलादेश र अन्य तेस्रो मुलुकका नागरिकहरूको सहभागिताले सुरक्षा चुनौती निम्त्याउन सक्ने भन्दै प्रतिबन्ध लगाइएको थियो। पछि आयोजकले नेपाल र भारतका नागरिकबाहेक अरूलाई सहभागी नगराउने प्रतिबद्धता जनाएपछि मात्र अनुमति दिइएको थियो।
कार्यक्रम स्थल र आसपासका क्षेत्रमा करिब १,००० जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो। त्यसैगरी, तेस्रो मुलुकका नागरिकहरू(विशेष गरी पाकिस्तानी र बंगलादेशी(लुकिछिपी सहभागी हुन सक्ने आशंकामा सुरक्षा निकायले उच्च सतर्कता अपनाएको थियो। कार्यक्रम स्थलमा पुगेका केही विदेशी नागरिकहरूलाई प्रशासनले तत्कालै फिर्ता पठाएको थियो। यसबाट इस्तेमामा विदेशीहरूको शंकास्पद सहभागिताको इतिहास रहेको देखिन्छ।
उतिबेला नेपाल–भारत खुला सिमानाका कारण अवैध प्रवेश हुन सक्ने भन्दै सीमा क्षेत्रमा कडा निगरानी र ‘क्रस–बोर्डर’ सुरक्षा समन्वय पनि बढाइएको थियो। तराई–मधेश क्षेत्रमा सम्भावित साम्प्रदायिक तनाव रोक्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न निर्देशन जारी गरेको थियो।
२०७६ सालको उक्त इस्तेमापछि नेपालमा साम्प्रदायिक तनाव, दंगा र झडपका घटनाहरू बढेको सन्दर्भमा यसपटक फेरि बारामा इस्तेमा हुन लाग्दा थप अशान्ति सिर्जना हुने चिन्ता व्यक्त गरिएको छ।
आवधिक भ्रमणस् दाबी र प्रश्न
प्रत्येक वर्ष बंगलादेश तथा पाकिस्तानबाट कम्तीमा पाँच–सात वटा तब्लिगी जमातका टोली नेपाल आउने र करिब दुई महिनासम्म बस्ने गरेका छन्। प्रत्येक टोलीमा ७ देखि ९ जनासम्म सदस्य हुन्छन्। उनीहरू मस्जिद वा मदरसाहरूमा बसोबास गर्छन्। भ्रमणका क्रममा उनीहरूले नेपालका विभिन्न स्थानमा इस्लामको प्रचार–प्रसारको सम्भावनाबारे अवलोकन गर्ने बताइन्छ।



