काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रिपरिषद् सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे का छन् । पारदर्शिता र सुशासनको नारासहित सत्तामा आएको वर्तमान सरकारका मन्त्रीहरूले पद बहालीको १७ औँ दिनमा नै आफ्नो आर्थिक अवस्था जनसमक्ष ल्याएका हुन् ।
विगतका सरकारहरूमा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउने गरे पनि सार्वजनिक गर्ने कानुनी बाध्यता नहुँदा विवरण गोप्य रहने गरेका थिए । तर, वर्तमान सरकारले २०४७ सालपछिका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय र चुनावी प्रतिबद्धता अनुरूप सबै मन्त्रीहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।
आइतबार सार्वजनिक भएको विवरणअनुसार मन्त्रिपरिषद्का अधिकांश सदस्यहरूको आर्थिक अवस्था उच्च र मध्यम श्रेणीको देखिएको छ, जसमा घरजग्गा, शेयर, बहुमूल्य धातुदेखि पशुधनसम्म समावेश छन् ।
यसपटकको सम्पत्ति विवरणमा परम्परागत भौतिक सम्पत्तिबाहेक डिजिटल उपस्थितिलाई पनि सम्पत्तिको रूपमा व्याख्या गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मुख्य आम्दानीको स्रोत सामाजिक सञ्जाललाई देखाउँदै बैंक मौज्दात १ करोड ४६ लाख रुपैयाँ उल्लेख गरेका छन्।
फेसबुकमा ४० लाख र युट्युबमा १२ लाख फलोअर्स रहेका शाहको आफ्नो नाममा घरजग्गा नभए पनि पत्नी सविना काफ्लेको नाममा १९० तोला पैतृक सुन रहेको छ । यस्तै, गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन र ४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको पाइएको छ ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सानेपा र तनहुँसहित चार स्थानमा घर र अपार्टमेन्ट रहेको खुलाउनुभएको छ भने उहाँको बैंक ब्यालेन्स १ करोड ९० लाख र सुन ४५ तोला रहेको छ । लामो समय विदेशमा रोजगारी गरेका वाग्लेको आम्दानीको मुख्य स्रोत सोही रोजगारी नै रहेको विवरणमा उल्लेख छ ।
मन्त्रिपरिषद्का अन्य सदस्यहरूमध्ये परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र विभिन्न कम्पनीको शेयर छ भने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ६४ लाख रुपैयाँ बैंक मौज्दात छ ।
कानुनमन्त्री सोबिता गौतमले १० तोला सुन र १० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गर्दै गाडी खरिदका लागि लिएको ऋणको विवरण समेत सार्वजनिक गरेकी छन् । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग ९० लाख बैंक ब्यालेन्स र ३० तोला सुन छ भने संघीय मामिला मन्त्री प्रतिभा रावलको काठमाडौं र बारामा जग्गा तथा ४४ लाखको गाडी रहेको देखिएको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलको परिवारको संयुक्त अचल सम्पत्ति करिब २० करोड बढीको देखिएको छ, जसको खुद सम्पत्ति करिब २३ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
ग्रामीण र सामाजिक पृष्ठभूमिका मन्त्रीहरूले भने आफ्ना पशुधनलाई समेत विवरणमा समेटेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले १८ तोला सुनका साथै २० वटा कुखुरा र एउटा कुकुर रहेको रोचक विवरण पेश गरेकी छन् ।
त्यस्तै, कृषिमन्त्री गीता चौधरीले ५ तोला सुन, ५० हजारको घडी र माइतीले दिएका दुई वटा बाख्रा र १० कुखुरा रहेको खुलाएका । मन्त्रीहरूले सार्वजनिक गरेको यो विस्तृत विवरणले नयाँ सरकार पारदर्शिताप्रति प्रतिबद्ध रहेको सन्देश दिन खोजेको देखिन्छ ।
कानुनी बाध्यता नभए पनि मन्त्रीहरूले स्वैच्छिक रूपमा सम्पत्ति विवरण सार्वजनिक गरेपछि अब पूर्व उच्चपदस्थहरूको सम्पत्ति छानबिन गर्ने सरकारी योजनाप्रति पनि नागरिकको चासो बढेको छ ।



