काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिकैको एक चिया पसलबाट प्रहरीले जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको छ । आइतबार बेलुकी चिया पसलमा जुवातास भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले छापा मारेको थियो ।
पक्राउ पर्नेमा पसल सञ्चालक पदमराज पन्तसहित सात जना रहेका छन् । प्रहरीले जुवाको खालबाट नगद ३६ हजार ४४२ रुपैयाँ र एक गड्डी तास समेत बरामद गरेको छ । प्रादेशिक अस्पताल जस्तो संवेदनशील क्षेत्र नजिकै सञ्चालित पसलमा लुकिछिपी जुवा खेलाउने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । पछिल्लो समय प्रहरीले जिल्लाका विभिन्न स्थानमा जुवातास र अवैध गतिविधि नियन्त्रणका लागि गस्ती र छापा मार्ने कार्य लाई तीव्रता दिएको छ ।



