काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१, बनकसवासामा गएराति भएको बस दुर्घटनामा परी २६ जना यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय चन्द्रौटा र वडा प्रहरी कार्यालयको टोली उद्धारमा खटिएको थियो । घाइतेहरूलाई तत्कालै नजिकका अस्पतालहरूमा पुर्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा र ३ जनाको स्थानीय आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये ६ जनाको अवस्था केही जटिल देखिएपछि उनीहरूलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
मध्यरातमा भएको उक्त दुर्घटनाको यकिन कारण भने खुल्न सकेको छैन । तीव्र गति वा चालकलाई निद्रा लागेका कारण बस पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
“हामीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेका छौँ, बसका चालक र अन्य प्रत्यक्षदर्शीसँग सोधपुछ भइरहेको छ,” डिएसपी सिंहले जानकारी दिए ।
राजमार्गको सो क्षेत्रमा रातिको समयमा सवारी साधनको गति नियन्त्रण र सडक सुरक्षालाई लिएर पुनः बहस सुरु भएको छ । घाइते यात्रुहरूका अनुसार बस एक्कासि अनियन्त्रित भएर सडकमै पछारिएको थियो ।



