काठमाडौं । कञ्चनपुर कारागारभित्र बुधबार दिउँसो कैदीबन्दीहरूबीच भीषण झडप हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दिउँसो करिब १२ बजेतिर सामान्य विवादबाट सुरु भएको झैझगडाले उग्र रूप लिएपछि कारागारभित्रै तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।
कैदीबन्दीहरूबीच आपसी होहल्ला र गालीगलौज बढ्दै जाँदा भौतिक आक्रमणमै उत्रिएपछि स्थिति नियन्त्रण बाहिर पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
झडपमा परी शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, वडा नम्बर ११ का १९ वर्षीय भुवन नाथ र २६ वर्षीय भुवन ऐर घाइते भएका छन्। त्यस्तै, भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैलाई तत्कालै उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ।
कारागारभित्र हिंसा भड्किएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको विशेष सुरक्षा टोली घटनास्थलमा खटिएको थियो । सुरक्षाकर्मीको हस्तक्षेपपछि अहिले कारागारको स्थिति नियन्त्रणमा आएको र थप अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कारागारजस्तो संवेदनशील स्थानमा कसरी झडपको स्थिति आयो र यसको पछाडि कुन समूह वा व्यक्तिको हात छ भन्ने विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।



