बीरगंज । पर्साको वीरगन्जस्थित हरी खेतान शिक्षक संघ तथा हरी खेतान बहुमुखी क्याम्पस कर्मचारी युनियन ले क्याम्पस प्रशासनसमक्ष विभिन्न माग राख्दै शीघ्र मांग सम्बोधन गर्न आग्रह गरेका छन्।
शिक्षक तथा कर्मचारीहरूले संयुक्त रूपमा क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि उठाइएका मागहरू पूरा नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन्। उनीहरूले क्याम्पसको शैक्षिक वातावरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्नुपर्ने माग गरेका छन्।
शिक्षक संघका अनुसार क्याम्पसमा कार्यरत शिक्षक तथा प्राध्यापकहरूको सेवा–सुविधा, तलब–भत्ता तथा प्रशासनिक व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्न पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराए पनि हालसम्म प्रभावकारी कदम नचालिएको गुनासो पनी गरिएको छ।
ज्ञापनपत्रमा क्याम्पसको हाल लागू विधान खारेज गरी सामुदायिक क्याम्पसको मर्मअनुसार नयाँ विधान लागू गर्न, त्तब्ब् नवीकरण प्रक्रिया तत्काल अघि बढाउन, ग्न्ऋ अनुदानको निरन्तरता कायम गर्न, शिक्षक तथा प्राध्यापकहरूको तलब–सुविधा विश्वविद्यालयको मापदण्डअनुसार लागू गर्न, वार्षिक ग्रेड तथा सेवा–सुविधा उपलब्ध गराउन लगायतका माग उल्लेख गरिएको छ।
त्यसैगरी प्राध्यापकहरूको अध्ययन–अवलोकन भ्रमण, सामाजिक सुरक्षा कोषमा आवद्धता, सेवानीवृत्त भएपछि उपदान तथा अन्य सुविधा, पेन्सनमा रहेका शिक्षक–प्राध्यापकलाई तलबमान रूपान्तरण तथा प्राध्यापकहरूको तलबमा समानता कायम गर्नुपर्ने माग पनि राखिएको छ।
यस्तै, क्याम्पस कर्मचारी युनियनले पनि कर्मचारीहरूको हक–हित, सुरक्षा तथा सेवासुविधा सुनिश्चित गर्न १५ बुँदे माग क्याम्पस प्रशासनसमक्ष पेश गरेको छ। कर्मचारीहरूले सामाजिक सुरक्षा योजना लागू गर्न, तलब तथा सेवा–सुविधा सुनिश्चित गर्न, कार्यालय सञ्चालन प्रणाली सुधार गर्न तथा प्रशासनिक पारदर्शिता कायम गर्नुपर्ने माग गरेका छन्। कर्मचारी युनियनका अध्यक्ष विनोद यादवले मागहरू समयमै सम्बोधन नगरिए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्।



