काठमाडौं । उदयपुरको कटारीमा हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । हिजो बेलुकी ठूलो हावाहुरी चलेको बेला रुख ढलेर लाग्दा कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी नगरपालिका–८ की मिनामाया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी निरञ्जन थापाले जानकारी दिनुभयो ।
कटारी–५ को राधाकृष्ण मन्दिर नजिक हावाले सुकेको सालको रुख ढल्दा चौधरीको ज्यान गएको हो । यो घटनामा रुखले लागेर ५ जना घाइते भएका छन् । घाइते सबैको प्रादेशिक अस्पताल कटारीमा उपचार भैरहेको छ । यस्तै कटारी नगरपालिका–८ की तामाङको घरमै हावाले भाँचेको रुखको हाँगाले लागेर ज्यान गएको उदयपुर प्रहरीले जनाएको छ ।
प्रि–मनसुनको योबेला दिउँसोपछि हावाहुरी तथा मेघगर्जन र चट्याङ पर्ने भएकाले चनाखो हुन मौसमविदको आग्रह छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीको क्षतिबाट बच्न घरको संरचना बलियो बनाउनुपर्छ ।
हावाहुरी चलेको बेला घरबाहिर निस्कन हुँदैन । झ्यालढोका बन्द गरेर घरभित्रै सुरक्षित बस्नुपर्छ । यात्रा गर्दा, गाडी, मोटर साइकल, साइकल चलाइरहेको बेला हावाहुरी चलेमा सुरक्षित ठाउँमा बस्नुपर्छ । हावाहुरी चल्दा रुख वरपर र कमजोर भौतिक संरचना भएको ठाउँमा नबस्न पनि विज्ञले आग्रह गर्दै आएका छन् ।
