वीरगञ्ज । पर्सा जिल्लामा जारी कर्फ्यु आदेश हटाइएको छ भने रातिको समयमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार जारी गरेको सूचनाअनुसार आज मंसिर ११ गते साँझ ४ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु हटाइएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार जिल्ला सुरक्षा समितिको निर्णय तथा सर्वदलीय बैठकको सहमतिका आधारमा कर्फ्यु निरन्तरता दिन आवश्यक नदेखिएकाले हटाइएको जनाइएको छ। यद्यपि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
सूचनाअनुसार मंसिर ११ गते बेलुका ६ बजेदेखि मंसिर १२ गते बिहान ६ बजेसम्म कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन तथा भीडभाड गर्न नपाइने भएको छ। आदेश उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ रानीघाट पुल, उत्तरतर्फ पावरहाउस चोक र दक्षिणतर्फ घण्टाघर चोकभित्रको क्षेत्र समेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसअघि शान्ति सुरक्षाको अवस्था बिग्रिएपछि वीरगञ्जमा कर्फ्यु जारी गरिएको थियो। पछिल्लो समय स्थिति क्रमशः सुधार हुँदै गएपछि प्रशासनले कर्फ्यु हटाउँदै आंशिक प्रतिबन्ध कायम राखेको हो।
