काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो विज्ञप्तिअनुसार हिजो दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यू अहिले बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ ।
त्यसपछि अत्यावश्यक कामका लागि बिहान साढे ८ बजेसम्म कर्फ्यू खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । यस समयमा भेला, जुलुस, सभा गर्न नपाइने प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै बिहान साढे ८ बजेदेखि अर्को आदेश जारी नभएसम्म फेरि कर्फ्यू लागू हुने विज्ञप्तिमा उल्लेख छ । पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको छ । वडा नम्बर ६ मा रहेको सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यू आदेश जारी भएको हो ।



