फागुन ७ बारा । बारा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्व सांसद किसान श्रेष्ठ लाई घरदैलो कार्यक्रमका क्रममा स्थानीय युवाहरूले प्रश्न गर्दै विरोध जनाएका छन्।
घरदैलो अभियान अन्तर्गत प्रसौनी गाउँपालिका वडा नं. १ पुगेका श्रेष्ठसँग स्थानीय युवाहरूले विगतको विकास अवस्था, जनप्रतिनिधिको उपस्थिती तथा योजनाको कार्यान्वयनबारे तीखो जिज्ञासा राखेका थिए।
प्रत्यक्ष सहभागीका अनुसार सो क्रममा उठाइएका प्रश्नहरूको स्पष्ट र सन्तोषजनक जवाफ नदिइएको युवाहरुले आरोप लगाइएको छ।

स्थानीय युवाहरूले सोही क्रममा असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले विगतका वर्षहरूमा गाउँ–टोलमा उल्लेखनीय विकास नदेखिएको तथा पछिल्ला करिब तीन वर्षमा उम्मेदवार गाउँमा नआएको भन्दै विरोध जनाएको बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार विकास योजनाहरू कागजमै सीमित भएको र जनप्रतिनिधिको नियमित सम्पर्क नहुँदा जनतामा निराशा बढेको छ।

घरदैलोका क्रममा देखिएको युवाहरूको प्रत्यक्ष प्रश्न र नाराबाजीले चुनावी माहोलमा असन्तुष्टिको संकेत दिएको स्थानीयले बताएका छन्।
यस विषयमा उम्मेदवार श्रेष्ठ पक्षबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।



