काठमाडौं । पोखरामा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेमा बिएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा कार चालक स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई अहिले पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनापछि सशस्त्र प्रहरी उपरीक्षक सिंहको कमाण्डमा गोताखोरसहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।
टोलीले बेहोस अवस्थामा चालकलाई तालबाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेज लगेकामा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । क्रेनको सहायताले कार निकालिएको छ । दुर्घटनाको थप अनुसन्धान भैरहेको छ ।
