काठमाडौं । आज फेब्रुअरी ४, विश्वभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ। क्यान्सरजस्तो जटिल र घातक रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान तथा प्रभावकारी उपचारमा जोड दिने उद्देश्यसहित प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।
सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि विश्व क्यान्सर दिवस मनाउन थालिएको हो। त्यसयता यो दिवसले क्यान्सरविरुद्ध विश्व समुदायलाई एकताबद्ध गर्दै आएको छ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०का अनुसार हरेक वर्ष विश्वभर करिब एक करोड मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ। विशेषज्ञहरूका अनुसार धूमपान, तमाखुजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता र अव्यवस्थित जीवनशैली क्यान्सरका प्रमुख जोखिम कारक हुन् ।
स्वास्थ्य विज्ञहरूले क्यान्सर प्रारम्भिक चरणमै पहिचान भएमा यसको उपचार सम्भव हुने बताउँदै आएका छन् । त्यसैले नियमित स्वास्थ्य परीक्षण, सचेत जीवनशैली र जोखिमपूर्ण बानीबाट टाढा रहनु नै क्यान्सरविरुद्धको सबैभन्दा प्रभावकारी उपाय मानिन्छ ।
विश्व क्यान्सर दिवसले सरकार, स्वास्थ्य संस्था, नागरिक समाज र आमनागरिकलाई क्यान्सरविरुद्ध साझा प्रयास गर्न आह्वान गर्दै आएको छ । ‘क्यान्सर हाम्रो साझा चुनौती हो’ भन्ने सन्देशका साथ आज विश्वभर विभिन्न सचेतनामूलक र स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना भइरहेका छन् ।



