शनिबार काठमाडौंमा आम जनता पार्टी गोकर्णेश्वर नगर समितिद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै साहले भने, “यो सरकारले शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न सकेको छैन, वैदेशिक सम्बन्धलाई शून्यतामा पुर्याएको छ,यो सरकारले विकास–निर्माण ठप्प छ। सरकार बनेको ४५ दिन बितीसक्दा पनि कुनै ठोस उपलब्धि देखिएको छैन ।
साहले प्रधानमन्त्री सुशीला कार्कीलाई तोकिएकै मितिमा चुनाव सम्पन्न गराउनेतर्फ जिम्मेवार बन्न आग्रह गर्दै भने सरकारको चाल–ढाल हेर्दा चुनाव हुनेमा शंका गर्नुपर्ने अवस्था आएको छ। यदि सरकारले चुनाव गराउँदैन भन्ने सोचेको छ भने जनताले कान समातेर भए पनि जिम्मेवारी पूरा गराउनेछन ।
सरकार जेन–जी आन्दोलनको भावना र मर्ममाथि प्रहार गर्दै पुरानै व्यवस्था दोहोर्याउने प्रयासमा लागेको साहले बताए। उनका अनुसार आन्दोलनमा संलग्न युवामाथि धरपकड भइरहेको छ तर आन्दोलनका बेला दमन गर्नेहरू अझै कारबाहीविहीन छन्। उनले भने यो सरकार जेन–जीहरूको भावनामाथि खेलवाड गर्दैछ।
सिंहदरबारदेखि संसद् भवनसम्मको क्षतिको तथ्य नआएको
साहले हालैका घटनामा जलेका सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतको क्षतिको विवरण अहिलेसम्म सार्वजनिक नगरेको भन्दै सरकारमाथि तथ्य लुकाउने आरोप समेत लगाए।
उनले भने, जनताले अझैसम्म थाहा पाएका छैनन् कति क्षति भयो, यो सरकार जवाफ दिन तयार छैन।
सुरक्षा र चुनावप्रति आशंका
साहले सुरक्षा निकायको मनोबल खस्किएको र अपराधीहरू फरार भएको आरोप लगाउँदै भने, सरकारले भयमुक्त वातावरण बनाउनुपर्नेमा उल्टै भय फैलाउने काम गरिरहेको छ। उनका अनुसार लुटिएका स्वचालित हतियार अझै फिर्ता ल्याउन नसकिएको प्रति साहले टिप्पणी गरे
भदौ २३ र २४ का घटनाको छानबिनका लागि गठन गरिएको आयोगका पदाधिकारीहरू नै धम्कीमा परेको भन्दै साहले सरकारले आयोगका सदस्यहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरे। उनले भने, एमाले नेताहरूले जाँचबुझ आयोगका सदस्यहरूलाई धम्की दिन थालेका छन्, सरकारले उनलाई तत्काल सुरक्षा दिनुपर्छ।
साहले चुनावी सरकारका नाममा राजदूतहरू फिर्ता बोलाएर वैदेशिक सम्बन्धमा खलल पुर्याएको आरोप पनि लगाए। राजदूत फिर्ता बोलाउने र नयाँ नपठाउने, यो वैदेशिक सम्बन्धलाई शून्यतामा झार्ने काम हो, उनले भने।
साथै सुशासन र विकासमा सरकार पूर्ण असफल भएको टिप्पणी गरे।
प्रधानमन्त्री बनेको डेढ महिना भइसक्दा पनि मन्त्रिपरिषद् पूर्ण नबनाएको भन्दै उनले सरकारमाथि ‘केटाकेटीपन’ देखाएको आरोप लगाए। साहले भने, “प्रधानमन्त्रीले दलित समुदायका डा। रामजी राम र खगेन्द्र सुनारको नाम सिफारिश गरेर पछि काट्नु अन्याय हो, यो सिंगो दलित समुदायमाथिको प्रहार हो।
साहले अन्त्यमा भने, “यो सरकार जनताको भरोसामाथि खेलवाड गर्दैछ, अब जनता पनि मौन रहने छैनन् — सुशीला सरकारले चुनाव गराउनैपर्छ, नत्र जनताले घोक्रेठ्याक लगाउँछन्।
