आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेन–जी आन्दोलनका क्रममा युवाहरुमाथि भएको गोलीकाण्डको प्रत्यक्ष जिम्मेवार व्यक्तिहरूलाई कारबाही नगरेर सरकारले हत्याराहरूलाई संरक्षण गर्न खोजिरहेको आरोप लगाएका छन्। उनले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद भएको भन्दै तत्काल राजीनामा माग गरेका हुन्
पर्साको पर्सागढी नगरपालिका अन्तर्गत दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने,
‘भदौ २३ गते युवाहरूको छाती र टाउकोमा खाली लक्ष्य गरेर गोली हानियो। तर हत्याराहरू अझैसम्म पक्राउ परेका छैनन्। यस्तो सरकारले शासन गर्ने नैतिकता हराइसकेको छ।’
उनका अनुसार जेन–जी आन्दोलन युवाहरूको बलिदानीको जगमा बनेको सरकारले नै अहिले हत्याराहरूलाई बचाइरहेको छ। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित कारबाहीको दायरामा ल्याउनुपर्ने व्यक्तिहरू सुरक्षित रूपमा रहनु सरकारको कमजोरी मात्र नभई संरक्षणको संकेत भएको बताए।
बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गरिएकोमा आपत्ति
आजपा अध्यक्ष साहले आन्दोलनमा संलग्न बालेन शाह र सुदन गुरुङविरुद्ध एमाले निकट समूहले दिएको जाहेरी दर्ता गरिनु योजनाबद्ध षड्यन्त्र भएको टिप्पणी गरे।
उनले भने,
‘जाहेरी दर्ता गरेर आन्दोलनकारी माथि दबाब सिर्जना गरिएको छ। तर गोली चलाउने र आदेश दिनेहरू अझैसम्म बाहिर घुमिरहेका छन्।’
‘सरकार हत्याराको सेवामा लागेको छ’।
साहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्याल दुवैले जेन–जी पुस्ताको भावना र बलिदानको अपमान गरेको आरोप लगाए।
उनले चेतावनी दिँदै भने,
‘यदि सरकारले हत्यारालाई कारबाही गरिदिँदैन भने जनताले नै उनीहरूलाई घरबाट निकालेर जनकारबाही गर्नेछन्।’
ओलीको सरकारलाई दुत्कार्ने स्थिति आएको टिप्पणी
