काठमाडौं । सरकार विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन बिहीबार ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ। कृषि विभागले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन ९एफएओ०, खाद्यका लागि कृषि अभियान लगायत सङ्घसंस्थासँग समन्वय गरी दिवस मनाउने तयारी गरेको हो। यस वर्षको नारा ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ तय गरिएको छ।
दिवसको सफल आयोजनाका लागि कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको विभागले जनाएको छ। विभागका अनुसार खाद्य वस्तु प्रदर्शनी, जानकारीमूलक गोष्ठी, जनसन्देश प्रसारण, पोस्टर र प्रचार सामग्री प्रकाशन लगायतका गतिविधि सञ्चालन गरी दिवस मनाइनेछ।
महानिर्देशक सञ्जेलका अनुसार स्वच्छ र सुरक्षित खाद्य पदार्थको प्रयोगले जनस्वास्थ्यमा पर्ने प्रत्यक्ष प्रभावबारे सर्वसाधारणलाई सचेत गराउन यस वर्षका कार्यक्रमहरू केन्द्रित हुनेछन्।
विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइँदै आएको छ। सन् १९७९ नोभेम्बरमा संयुक्त राष्ट्रसंघको २०औँ साधारण सभाले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) स्थापना भएको दिनका अवसरमा यो दिवस मनाउने प्रस्ताव पारित गरेको थियो। त्यसयता सन् १९८१ देखि हरेक वर्ष विश्व खाद्य दिवस मनाउने परम्परा सुरु भएको हो।
नेपालमा पनि हरेक वर्षको यो अवसरमा कृषि तथा खाद्य सुरक्षासँग सम्बन्धित विषयमा छलफल, प्रदर्शन र सचेतनामूलक कार्यक्रम आयोजना गर्ने गरिन्छ। यस वर्षको दिवसले स्वच्छ, पोषणयुक्त र सन्तुलित आहारको प्रवर्द्धनमा नागरिक, निजी क्षेत्र र सरकारबीच सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
