काठमाडौं । जनमत पार्टीभित्रको आन्तरिक कलह सार्वजनिक भएको छ । पार्टी अध्यक्ष सिके राउतको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै ६ जना प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेका छन् ।
उनीहरूले सामूहिक राजीनामा दिँदै जनमत पार्टीको प्रमुख नेतृत्वले ‘जेनजी पुस्ताले बगाएको रगतको अपमान गरेको’ आरोप लगाएका छन् । राजीनामा दिनेमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव जस्ता शीर्ष नेताहरू समेत रहेकाले यो घटनालाई पार्टीभित्रको ठूलो विभाजनका रूपमा हेरिएको छ ।
उनीहरूले राजीनामा पत्रमा पार्टी अध्यक्षलाई आत्मालोचना गरी नेतृत्व परिवर्तन गर्न माग गरेको तर त्यसको अवहेलना गरिएको उल्लेख गरेका छन् ।
यो घटनाले जनमत पार्टीभित्र देखिएको शक्ति संघर्ष र असन्तुष्टिलाई बाहिर ल्याएको छ । अध्यक्ष राउतले राजीनामाको चेतावनीलाई अस्वीकार गर्दै उल्टै राजीनामा माग गरेपछि विवाद थप चर्किएको थियो ।
राजीनामा दिने नेताहरूले आफूहरू पदको स्वार्थमा नभई नयाँ पुस्ताको नेतृत्वलाई सहयोग गर्न चाहेको बताएका छन्, जसले भविष्यमा उनीहरू नयाँ राजनीतिक शक्ति निर्माणमा लाग्न सक्ने सङ्केत गर्छ।



