जनकपुर । सिरहाको लहान नगरपालिकामा एक महिला र उनका छोरा मृत अवस्थामा फेला परेका छन् । सोही घरमा रहेका अर्का एक छोराको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ ।
लहान नगरपालिका–१, मटिअर्वाकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी लहान नगरपालिका–१२, भोटिया टोलस्थित आफ्नै कोठामा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, बिहान १० बजेतिर रञ्जिता सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा र उनका जेठा छोरा एरोन खाटमा मृत भेटिएका थिए । त्यही कोठामा रहेका नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेका छन् र उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, घटनास्थल पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको थियो। सोही फ्ल्याटमा बस्ने अरूले खबर गरेपछि प्रहरीले ढोका खोलेर भित्र प्रवेश गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घरायसी विवादका कारण महिलाले आफ्ना दुई छोरालाई विष खुवाएर आफूले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ ।
आमा र छोराको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



