काठमाडौं । सिन्धुपलाञ्चोक इन्द्रावती १० की गंगा सोनमले नेपाल आइडल’ सिजन ६ को उपाधि जितेकी छन् । आइतबार राति सम्पन्न फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई हराउँदै उनले उपाधि जितेकी हुन् ।
उनले उपाधि ट्रफीसहित नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहारहरू पाएकी छन् । सोनम विजेता बन्दा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप बनेका छन् । फस्ट रनर अप थापा र सेकेन्ड रनर अप गान्धारीले नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरेका छन्। यस्तै अभिनय खाति चौथो बने भने मृनल मानन्धरले पाँचौ बनेका छन्, उनीहरुले जनही १ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
नेपाल आईडल बन्ने सोनम दोस्रो महिला हुन् । यसअघि सज्जा चौलागाईँले सिजन ३ को आईडल जितेकी थिइन् । यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले नेपाल आईडलको उपाधि प्राप्त गरेका थिए । नेपाल आइडलको यो सिजनमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक रहेकोमा शोको निर्देशन सुरेश पौडेल र एलेन श्रेष्ठले गरेका थिए ।



