काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीन भ्रमणमा जाँदै हुनुहुनेछ। उहाँको भ्रमणको मुख्य उद्देश्य बेइजिङमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनु हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, भ्रमणको क्रममा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। सम्मेलन भदौ १५ र १६ गते सञ्चालन हुनेछ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नुहुनेछ।
विश्वभरका अन्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पनि सहभागिता रहने उक्त सम्मेलनमा नेपाल प्रधानमन्त्रीको स्तरमा पहिलो पटक प्रतिनिधित्व गर्दैछ। सम्मेलनमा मुख्यगरी राजनीति, अर्थतन्त्र र क्षेत्रीय सुरक्षाका विषयमा छलफल हुने बताइएको छ।
एससीओ सन् २००१ मा स्थापना भएको क्षेत्रीय सुरक्षा र आर्थिक संगठन हो। हाल यसका १० सदस्य राष्ट्र—चीन, भारत, पाकिस्तान, रुस, काजाकस्तान, किर्गिजस्तान, ताजकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस—रहेका छन्। नेपाल सन् २०१६ देखि यस संगठनको सम्वाद साझेदार राष्ट्रको रूपमा रहँदै आएको छ।
विशेषज्ञहरूले प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल र एससीओ सदस्य राष्ट्रबीच कूटनीतिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको बताएका छन्।
