काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व टिका लगाएर दिइने कुरा नभएको बताउनुभएको छ । आइतबार प्रेस सेन्टर नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर मात्रै नेतृत्व हस्तान्तरण गर्न सकिने भन्दै यो टिका लगाएर दिइने कुरा नभएको बताउनुभएको हो ।
आफूले पार्टीको नेतृत्व गरेको ३५÷३६ वर्ष पुगिसकेको उल्लेख गर्दै उहाले नेतृत्वमा बसिरहनुपर्छ भन्ने नरहेको बताउनुभयो । तर पार्टी नेता कार्यकर्ताबाट आफुलाई नै पार्टीको नेतृत्व निरन्तर गर्न दवाव आएको प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले मुलुकका लागि आफु नेतृत्वको सरकारले असाधारण काम गरेकाले आफुलाई हटाइएको जिकिर गर्नुभयो । उहाले अहिलेको सरकार बिचौलियाकै सरकार रहेको आरोप लगाउनुभयो ।
उहाले संविधानको भावनाविपरित बनेको सरकारले निरन्तर जनताका इच्छा विपरित काम गरिरहेको समेत बताउनुभयो । प्रचण्डले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको दावी गर्नुभयो ।



