काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रसहितको संघीय व्यवस्था भ्रष्टाचार र तस्करतन्त्रमा रुपान्तरण हुँदै गएको बताउनुभएको छ ।
त्रिभुवन जयन्ती, प्रजातन्त्र दिवस तथा राप्रपा नेपालको बार्षिकोत्सवका अवसरमार सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले धर्मनिरपेक्ष, गणतन्त्रसहितको संघीय व्यवस्था मुलुकमा असफल भइसकेको भन्दै परिवर्तित व्यवस्था भ्रष्टाचार र तस्करतन्त्रमा रुपान्तरण हुँदै गएको बताउनुभएको हो ।
थापाले भुटानी शरणार्थी, ललिता निवास जग्गा जस्ता प्रकरणमा प्रमुख दलका नेताहरु नै संलग्न देखिएकाले आफ्ना मान्छेलाई जोगाउने काम भएको तर्क गर्नुभयो ।
बामपन्थी कम्युनिष्ट र समाजवादी बिचार संसारभर असफल प्रमाणित भइसकेको अवस्थामा बामबन्थी विचारको उग्र संस्करण माओवादी नेतृत्वमा नेपालको राजनीति अघि बढिरहेको उहाले बताउनुभयो ।
त्यस्तै उहाले फरक बिचारसहित राजनीतिमा रहेका रास्वपा, राप्रपा लगाएतका दलपनि कांग्रेस र एमालेसंगै प्रचण्डको सरकारमा सहभागी भएको र भोलीको दिनमा पनि सहभागी हुने संस्कार देखिएको भन्दै थापाले यो नेपाली राजनीतिको बिकृत दृश्य भएको धारणा राख्नुभयो । उहाले मुलुकमा शान्ति र स्थायीत्व कायम गर्न वर्तमान व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो ।



