काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज (बुधबार) मान्यजनका हातबाट नवदुर्गाको प्रसाद स्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरी विजयादशमी पर्व मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । त्यसअघि दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा(आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भने बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरिएको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिनभर नै टीका र जमरा ग्रहण गर्न सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय उत्तम ठहर गरिएको हो ।
शास्त्रीय मान्यता अनुसार साइतमा टीका ग्रहण गर्दा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने समितिका अध्यक्ष डा. भट्टराईले जानकारी दिए ।
बडादसैँमा नवदुर्गा भवानीको विधिपूर्वक पूजा-आराधना गरी नवदुर्गाको प्रसाद स्वरूप समृद्धिको प्रतीक रातो टीका र पहेँलो जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य, नातेदार तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट सुख, शान्ति र प्रगतिको आशीर्वाद लिने गर्दछन् ।
रोजगारी, अध्ययन तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीहरूसमेत दसैँ मनाउन आफ्नो थातथलो फर्कने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलन र सामाजिक सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
नेपालका धेरैजसो स्थानमा विजयादशमीका दिन मात्र टीका-जमरा लगाइने भए पनि कतिपय समुदाय र भूगोलमा भने आजदेखि सुरु भई कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी रहन्छ ।
