काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ४४ पुगेको छ। प्रहरी प्रधान कार्यालयले आज बिहानसम्म अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार तटीय क्षेत्र तथा बाढीप्रभावित विभिन्न स्थानबाट शव तथा मानव अवशेष फेला पर्ने क्रमसँगै मृतकको सङ्ख्या बढेको हो ।
विपद्मा परी अझै ठूलो सङ्ख्यामा नागरिकहरू सम्पर्कविहीन रहेका छन् । प्रहरीका अनुसार ४ हजार ८ सय ९८ जना अझै हराइरहेका छन् । बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली निरन्तर परिचालन भइरहेको र तीव्र रूपमा खोजतलास जारी राखिएको प्रहरीले जनाएको छ ।
यसैबिच, उद्धार टोलीले फेला पारेका शवहरूमध्ये हालसम्म १ हजार ३० वटा शवको कानुनी प्रक्रिया पूरा गरी धार्मिक विधिअनुसार भू-उपयोग तथा जमिनमा व्यवस्थापन गरिसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाँकी शवहरूको डीएनए नमुना सङ्कलन र पहिचानको कार्यलाई सँगसँगै अघि बढाइएको छ ।
