१९ भदौ, काठमाडौँ । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म मृत्युसँग सङ्घर्ष गरेर जीवितै उद्धार गरिएका मेकानिकल फोरम्यान (अपरेटर) सञ्जय साहले सुरुङभित्र अझै ४० देखि ५० जना मानिसहरू हुनसक्ने खुलासा गरेका छन् ।
१० दिनको कष्टकर प्रतीक्षापछि शुक्रबार सकुशल उद्धार गरिएका साहले बाढीको त्यो भयानक दिन सम्झँदै आफूहरूले भोगेको त्रासदी र सुरुङभित्रको अवस्थाबारे सनसनीपूर्ण जानकारी दिएका छन् ।
घटनाको दिनलाई स्मरण गर्दै साहले आफूले कन्ट्रोल रुमबाटै दुर्घटनाको खतरा देखेपछि अन्य सहकर्मीहरूलाई जोगाउन दौडधूप गरेको बताएका छन्। ‘ड्याममा दुर्घटना भयो भनेर सबैलाई बाहिर भाग्न लगाएँ, सबैको ज्यान बचाउनुपर्ने जिम्मेवारी मेरा काँधमा थियो’ साहले उद्धारपछिको कुराकानीमा भने, ूसबैलाई भगाउने क्रममा मेरो आफ्नो समय बित्यो र म अन्तिममा निस्कनै पाइनँ।’ सुरुङभित्र बिताएको त्यो १० दिन आफ्नो जीवनको सबैभन्दा कठिन घडी भएको बताउँदै उनले सुरुङको अन्धकार र मृत्युको त्रासबीच निरन्तर महामन्त्र जप गरेरै आफूलाई मानसिक रूपमा बलियो राखेको खुलासा गरे ।
सुरुङभित्र अझै धेरै मानिसहरू फसेको उनको अनुमान छ। कन्ट्रोल रुममा सामान्यतया थोरै मानिस भए पनि घटनाको समयमा आयोजनाभित्र ४० देखि ४५ जना मानिसहरू हुनुपर्ने उनले बताएका छन् ।
सुरुङ लामो भएको र पानीको भयानक बहाव तथा फोर्सले धेरैलाई भित्रैतिर हुत्याएको हुन सक्ने आशङ्का व्यक्त गर्दै साहले भित्र रहेका पावर हाउस र अन्य भागमा समेत मानिसहरू हुन सक्ने बताएका छन् ।
१० दिनसम्म सुरुङको सुरुक्षात्मक घेरामा मृत्युलाई जितेर बाहिर आएका साहको यो मार्मिक बयानले यतिबेला सबैलाई चकित पारेको छ भने सुरुङभित्र अझै हराइरहेकाहरूको खोजी कार्यलाई थप तीव्र बनाउनुपर्ने सन्देश दिएको छ ।
