१९ भदौ, काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको पूजा-आराधना गरी देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र यस रातलाई ‘मोहरात्रि’ का रूपमा मनाउने गरिन्छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा उभिएर सत्कर्मका लागि प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको धर्मयुद्धमा अर्जुनलाई उपदेश दिने क्रममा श्रीकृष्णको मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ (गीता) लाई विश्वकै पवित्र र सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै अनेकौँ अलौकिक लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता अत्याचारी दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो ।
जन्माष्टमीका अवसरमा आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरहरूमा पूजाआराधना, प्रवचन तथा भजनकीर्तन भइरहेको छ । श्रद्धालु महिला तथा पुरुषहरू आज दिनभर व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
यस अवसरमा ललितपुरको पाटन मङ्गलबजारस्थित ऐतिहासिक तथा प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ । यस्तै, काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधामका साथै देशभरका साना-ठूला कृष्ण मन्दिरहरूमा विशेष मेला तथा धार्मिक अनुष्ठानहरू भइरहेका छन् । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा धार्मिक सङ्घ-संस्थाहरूले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने तयारी गरेका छन् ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
