वीरगञ्ज । नेपालमा आएको भीषण बाढीका कारण भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा बगेर आएका शवहरू भेटिने क्रम जारी रहेको छ । कुशीनगर जिल्ला प्रशासनका अनुसार नदीबाट हालसम्म १३ वटा अज्ञात शव फेला पारिएको छ ।
फेला परेका शवहरूमा ६ पुरुष र ७ महिला रहेका छन् । सङ्कलित शवहरूमध्ये ६ वटा कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ठाउँ अभाव भएपछि बाँकी ७ वटा शवलाई गोरखपुरस्थित एम्स (AIIMS) अस्पतालमा पठाइएको भारतीय अधिकारीहरूले जनाएका छन् ।
नदीमा अझै शवहरू बगेर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै एसडीआरएफ (SDRF) र एनडीआरएफ (NDRF) का टोलीहरूले गण्डक नदी तटीय क्षेत्रमा निरन्तर गस्ती र खोजी कार्य जारी राखेका छन् ।
कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवका अनुसार कानुनी प्रक्रियाअनुसार शवहरूको फरेन्सिक जाँच र परीक्षण भइरहेको छ ।
कुशीनगर जिल्ला प्रशासनले नेपालका सीमावर्ती जिल्लाका अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्क गरिरहेको र भारतीय विदेश मन्त्रालयमार्फत पनि औपचारिक रूपमा जानकारी गराइँदै आएको उनले बताइन् ।
पोस्टमार्टम लगायतका प्रक्रिया पूरा भएपछि ती शवहरू नेपाल सरकारलाई हस्तान्तरण गरिने र त्यसपछि डिएनए तथा पहिचानका आधारमा आफन्तको जिम्मा लगाइनेछ ।
यसैबिच, आफन्तको खोजीमा भारततर्फ पुग्ने नेपाली नागरिकहरूलाई सहजीकरण र सहयोग पुर्याउन कुशीनगर जिल्ला प्रशासनले २४ सै घण्टा सञ्चालनमा रहने गरी विशेष नियन्त्रण कक्ष (कन्ट्रोल रुम) समेत स्थापना गरेको छ ।
