५ वैशाख,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मुख्य सडक क्षेत्रको अतिक्रमण हटाउने अभियान वैशाख ६ गतेदेखि सुरु गर्ने भएको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार गण्डक–मितेरी पुल सडक खण्डअन्तर्गत नेपाल–भारत सीमादेखि गण्डक नहर चोकसम्मको क्षेत्रमा रहेका संरचना, पसल तथा अन्य अवरोध हटाइने छन्।
प्रशासनले सम्बन्धित सबैलाई वैशाख ६ गते बिहान साढे ४ बज्नुअघि नै आ-आफ्ना संरचना खाली गर्न निर्देशन दिएको छ। निर्धारित समयभित्र खाली नगरे बल प्रयोग गरी हटाइने चेतावनी दिइएको छ।
सडक विस्तार तथा संरक्षणका लागि राष्ट्रिय राजमार्गको मापदण्डअनुसार दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराइने तयारी गरिएको प्रशासनले जनाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार समन्वयात्मक बैठकको निर्णयअनुसार अतिक्रमण हटाउन डोजर प्रयोग गरिनेछ। “सबै तयारी पूरा भइसकेको छ, अब सिधै डोजर चलाइन्छ,” उनले भने।

प्रशासनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणलाई अभियानमा सहयोग गर्न आग्रह गरेको छ। साथै, अतिक्रमण हटाउने कार्यमा अवरोध गरे कडाइका साथ कारबाही गरिने पनि जनाइएको छ।



