काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको छ ।
सिँचाइको संस्थागत विकासका क्रममा नहर विभाग, सिँचाइ तथा खानेपानी विभाग, सिँचाइ तथा जलवायु विज्ञान विभाग हुँदै २०४४ सालमा सिँचाइ विभागमा रूपान्तरण भएको थियो ।
विसं २०७२ मा नेपालको संविधान जारी भएपश्चात् सिँचाइ विभाग र जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग खारेज गरेर २०७५ सालमा जलस्रोत तथा सिँचाइ विभागको स्थापना भएको थियो ।
नेपालको इतिहासमा पहिलो पटक सरकारी स्तरबाट १९७९ सालमा ‘चन्द्र नहर’को निर्माण शुरुवात भएर १९८५ सालमा सम्पन्न भएको थियो । यसलाई नै पहिलो आधुनिक तथा सबैभन्दा पुरानो सिँचाइ प्रणाली मानिन्छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको विशेष पहलमा बनेको सो नहरको प्राविधिक नेतृत्व ९चिफ इन्जिनियर० शाही सेनाका महासेनानी डिल्लीजङ्ग थापाले गर्नुभएको थियो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक एवं प्राविधिक सहयोगमार्फत हालै ‘शताब्दी’ पार गरेको सो नहरका ३२ प्रमुख संरचनाहरूको पुनर्निर्माण तथा सुदृढीकरणमा सम्पन्न भएको थियो । उदयपुरको त्रियुगा नदीलाई मुख्य पानीको स्रोत मानेर निर्माण गरिएको सो नहरबाट २८ किमी मूल नहर, ११ शाखा नहर तथा थप शाखा नहरमार्फत सप्तरी जिल्लाका १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको छ । यसबाट ३५ हजार घरपरिवारका किसान लाभान्वित हुँदै आएका जनाइएको छ ।
पछिल्लो समय कृषियोग्य जमिनमा सिँचाइ सुविधाको पहुँचले गति लिँदै गएता पनि अझै १० लाख हेक्टर जमिनमा सिँचाइको पहुँच पुर्याउनुपर्ने देखिएको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई. मित्र बरालले भन्नुभयो, कुल सिँचाइयोग्य क्षेत्र करिब २५ लाख ३६ हजार हेक्टरमध्ये हाल करिब १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भइसकेको छ । सतह, भूमिगत, जलाशय र लिफ्ट सिँचाइमार्फत सिँचाइ पुगेका क्षेत्रमा हेक्टर उत्पादन औसत रूपमा वृद्धि भएको छ ।
नेपालमा कृषियोग्य जमिनको क्षेत्रफल ३५ लाख ५७ हजार ७०० हेक्टर रहेको जनाइएको छ । उहाँले भन्नुभयो, नेपालको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ । करिब ६२ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेसामा संलग्न रहेका छन् ।
दिगो, भरपर्दो र प्रभावकारी सिँचाइ प्रणालीबिना कृषि आधुनिकीकरण, उत्पादन वृद्धि तथा खाद्य सुरक्षा सम्भव हुँदैन । यसैलाई ख्याल गर्दै कृषियोग्य जमिनमा सिँचाइको सुविधा पुर्याउन विभागले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।
