काठमाडौं । निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउने उद्देश्यका साथ सरकारले आजदेखि मतदानको अन्तिम परिणाम नआएसम्मका लागि देशभर मादक पदार्थको बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको हालै सम्पन्न बैठकले फागुन २१ गते हुने मतदानलाई ध्यानमा राख्दै यस्तो कडा कदम चाल्ने निर्णय गरेको हो । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को प्रावधान अनुसार मतदानको सात दिन अगाडि देखि नै मदिराजन्य पदार्थमा रोक लगाइएको छ, जसले सम्भावित झडप र सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, निर्वाचन आचारसंहिताको पालना गराउन र भयरहित वातावरण सुनिश्चित गर्न फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारमा समेत पूर्ण निषेध (मौन अवधि) लागू हुने भएको छ । गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू लाई यस नियमको कडाइका साथ पालना गराउन र अटेर गर्नेलाई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत अनुगमनलाई तीव्र पार्दै निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ का प्रावधानहरूलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । सवारी साधन सञ्चालनको हकमा भने मतदानको दिन अर्थात् फागुन २१ गतेका लागि विशेष व्यवस्था गरिएको छ ।
फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाइनेछ । यद्यपि, एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन, र खानेपानी तथा विद्युत् जस्ता अत्यावश्यक सेवाका साधनहरू भने सुचारु रहनेछन् । कूटनीतिक नियोग र निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारी साधनलाई मात्र सडकमा गुड्ने अनुमति दिइने आयोगले स्पष्ट पारेको छ ।
