२१ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ मुर्ली क्षेत्रमा रहेका सयौँ सार्वजनिक धारा अज्ञात समूहद्वारा तोडफोड गरिएको घटनामा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीयवासीले धारा भाँचिएको जानकारी दिएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले आसपासमा जडान गरिएको सिसिटिभी क्यामेराको फुटेजको आधारमा अनुसन्धान अगाडि बढाएको थियो। सोही फुटेजका आधारमा प्रहरीले दुई जनालाई पहिचान गरी नियन्त्रणमा लिएको हो।
तोडफोडका कारण स्थानीयवासीलाई खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको छ। सार्वजनिक प्रयोजनका लागि जडान गरिएका धारा क्षतिग्रस्त भएपछि सर्वसाधारणलाई ठूलो असुविधा भएको स्थानीयको गुनासो छ।
पक्राउ परेका युवकहरूमाथि थप अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको हुन सक्ने प्रहरीको आशंका छ। घटनाबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र दोषीमाथि कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।
यस घटनापछि महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।



