वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग लाई वीरगञ्ज महानगरपालिका वडा नम्बर–११, श्रीपुरमा Gen Z युवाहरू तथा स्थानीयवासीहरूले भव्य स्वागत तथा सम्मान गरेका छन् । आज आयोजित स्वागत कार्यक्रममा युवाहरू र स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई खादा–माला लगाई सम्मान गर्दै उत्साहपूर्वक समर्थन व्यक्त गरेका थिए।
स्वागतपश्चात् आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उम्मेदवार सिंहले टोलवासीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै युवाका लागि रोजगारी र शिक्षा, गाउँ–टोलको समग्र विकास तथा क्षेत्रका प्राथमिक आवश्यकताबारे आफ्ना धारणा राख्नुभयो।
उहाँले निर्वाचन क्षेत्रभित्रका हरेक वडामा जनगुनासो सुन्ने सचिवालय स्थापना गर्ने योजना रहेको जानकारी गराउँदै जनताको समस्या नजिकबाट सुनी तत्काल समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानको हित सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० मा निर्वाचित भएर जनप्रतिनिधिका रूपमा गरेको काम र त्यहाँबाट प्राप्त अनुभवलाई अब संघीय संसदसम्म पुर्याएर जनताको आवाज सशक्त रूपमा उठाउने अठोटसमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी Gen Z युवाहरू र स्थानीयवासीहरूले नयाँ सोच, युवामैत्री नीति र इमानदार नेतृत्वप्रति उम्मेदवार सिंह प्रति विश्वास व्यक्त गरेका थिए। उज्यालो नेपाल पार्टीले यस्ता जनसम्पर्क तथा सम्मान कार्यक्रमहरूले संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध अझ मजबुत बन्दै गएको जनाएको छ।




