बीरगंज । नेपाली मुद्रा प्रणालीलाई सुरक्षित र विश्वासयोग्य बनाउन नेपाल राष्ट्र बैंकले नेपाली नोटमा रहेका सक्कली र नक्कली नोट छुट्याउने विभिन्न सुरक्षा चिन्हहरू अंकित गरी जनचेतनामूलक सामग्री सार्वजनिक गरेको छ। पछिल्लो समय बजारमा नक्कली नोटको जोखिम बढ्न सक्ने आशंकालाई मध्यनजर गर्दै राष्ट्र बैंकले सर्वसाधारणलाई सजग गराउने उद्देश्यले यो अभियान अघि सारेको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा नेपाली नोटमा रहेका दृश्य र अदृश्य सुरक्षा विशेषताहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ। नोटलाई सामान्य आँखाले हेर्दा, छोएर महसुस गर्दा र पराबैजनी (Ultra Violet) बत्तीको प्रयोग गर्दा देखिने चिन्हहरू नै सक्कली नोटको मुख्य आधार भएको जनाइएको छ।
नोटमा रहेका प्रमुख सुरक्षा चिन्हहरू
राष्ट्र बैंकका अनुसार नेपाली नोटमा निम्न सुरक्षा विशेषता पाइन्छन्–
Watermark (जलछाप): नोट उज्यालोमा हेर्दा स्पष्ट देखिने जलछाप
Security Thread (सुरक्षा धागो): नोटभित्रै गाडिएको सुरक्षात्मक धागो
See-through Register: अगाडि–पछाडि मिल्दा पूरा हुने आकृति
Embossed Print (उठेको छपाइ): छोएर महसुस गर्न सकिने उठेको अक्षर तथा चित्र
Micro Lettering: नजिकबाट हेर्दा मात्र देखिने साना अक्षर
Serial Number: फरक शैली र रंगमा छापिएको क्रम संख्या
UV Light Feature: पराबैजनी बत्तीमा नोटका विशेष भाग मात्र चम्किने व्यवस्था
यी सुरक्षा चिन्हहरू रु. १००, ५०० र १००० दरका नोटहरूमा फरक–फरक तरिकाले समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले नक्कली नोट प्रयोग वा कारोबारमा संलग्न हुनु कानुनी अपराध भएको स्मरण गराउँदै नोट प्राप्त गर्दा ध्यानपूर्वक जाँच गर्न सर्वसाधारण, व्यवसायी, बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
शंकास्पद नोट भेटिएमा नजिकको बैंक वा सुरक्षा निकायमा जानकारी गराउन पनि अनुरोध गरिएको छ। जनचेतनाले नक्कली नोट राष्ट्र बैंकक अनुसार यस्तो जनचेतनामूलक पहलले नक्कली नोटको कारोबार नियन्त्रण, आर्थिक अपराध न्यूनीकरण र नेपाली मुद्राप्रतिको विश्वास अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
आम नागरिक सचेत भएमा मात्र नक्कली नोटको जोखिमलाई न्यूनिकरण गर्न सकिने राष्ट्र बैंकको निष्कर्ष छ। नेपाल राष्ट्र बैंकको यो कदमलाई मुद्रा सुरक्षाका लागि समयसापेक्ष र प्रभावकारी पहलका रूपमा हेरिएको छ।

