काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको हो ।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि भोलिदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले प्राथमिकता पाउनेछन् ।
छनोट भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम दिएर करिब एक महिनासम्म निर्वाचन सुरक्षामा परिचालन गरिनेछ। उनीहरू ले ४० दिनको तलब पाउनेछन्, जुन प्रहरी जवान सरह हुनेछ। साथै पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन सुविधासमेत उपलब्ध गराइनेछ ।
फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको तथा कुनै राजनीतिक दलको सदस्य नरहेको मापदण्ड तोकिएको छ ।यसअघि ‘म्यादी प्रहरी’ भनेर चिनिने जनशक्तिलाई यस पटक पहिलो पटक ‘निर्वाचन प्रहरी’ नाम दिइएको हो ।
