वीरगंज । वीरगंजमा उत्पन्न तनावलाई शान्तिपूर्ण ढंगले निकास दिन जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक चलिरहेको छ। बैठकमा जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा सरोकारवाला पक्षहरूको सहभागिता रहेको छ ।
हालै वीरगंज क्षेत्रमा देखिएको असहज परिस्थिति, प्रदर्शन र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीबारे छलफल गर्दै बैठकले आपसी समझदारी, संवाद र संयमताको माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाइएको छ। प्रशासनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएको छ।
बैठकका क्रममा तनाव कम गर्ने उपाय, अफवाह नियन्त्रण, तथा कानूनको पालना सुनिश्चित गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ। बैठकसँग सम्बन्धित तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति कायम गर्न सहयोग गर्न र कुनै पनि उत्तेजक गतिविधिमा नलाग्न आग्रह गरेको छ।
