काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ राजनीतिक दल दर्ता गर्ने म्याद आज साँझ सकिँदैछ। निर्वाचन आयोगले निर्धारित गरेको समयसीमा अनुसार आज अन्तिम दिन भएकाले दल दर्ताका लागि आयोग परिसरमा चहलपहल बढेको छ।
आयोगका अनुसार हाल दर्ता भइसकेका दलले पनि निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। यसअघि आयोगले फागुन २१ गते प्रतिनिधि सभा सदस्य र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरिसकेको थियो।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न सकिने व्यवस्था गरेको छ। दर्ता निवेदनसहित दलको नाम, दल गठन मिति, विधान, पदाधिकारी विवरणलगायत आवश्यक कागजात अनिवार्य रूपमा खुलाउनुपर्ने आयोगले जनाएको छ।
माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचन त्यस संस्थाका एक तिहाइ सदस्य फागुन २० गतेबाट रिक्त हुने व्यवस्थाअनुसार गरिन लागेको हो। रिक्त सदस्यको परिपूर्तिका लागि आयोगले आवश्यक तयारी पूरा गर्दै दल दर्ता प्रक्रियालाई तीव्र पारेको छ।
आयोगले दर्ता म्याद सकिनुअघि सबै इच्छुक दलले कागजातसहित निवेदन पेश गर्न आग्रह गर्दै समयसीमा ननाघ्न चेतावनी पनि दिएको छ। निर्वाचन तयारीसँगै दल दर्ताको प्रक्रियाले आयोगमा राजनीतिक गतिविधि थप सक्रिय भएका छन्।
काठमाडौं । सरकारले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयले गएको परिपत्रमार्फत आन्दोलनमा भएका क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्नेसम्बन्धी आवश्यक जानकारी गराउन भनेको छ ।
सरकारले आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन तथा पुनः निर्माण योजना तयारीका लागि गएको असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट पाँच सदस्यीय समिति गठन गरेको थियो । क्षतिको तथ्याङ्क प्रविष्ट गर्न छुट भएको भए मन्त्रालयले तयार पारेको पोर्टलमा विवरण उपलब्ध गराउन र अपलोड गर्न अनुरोध गरिएको छ ।
