१० कात्तिक,वीरगञ्ज । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने छठ पर्बको मुख्य दिन आज सोमबार साँझ ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिदै छन् ।
कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको तेश्रो दिन (आज सोमबार) अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ ।छठको मुख्य दिन आज सोमबार साँझ ब्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाश्यमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सुर्य र छठी मातालाइ अर्घ दिनेछन् ।
वीरगञ्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि , नगवा , छपकैया लगायतका स्थानमा रहेका छठघाट (जलाशय) हरुमा आज साँझ सुर्य भगवान र छठीमातालाइ अर्घ दिन ब्रतालुहरु पुग्छन् ।
सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।
छठ पर्बको अन्तिम दिन सप्तमी तिथीका दिन भोली (मंगलबार) बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउदो सुर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ । यसअघि आईतबार देखि निर्जला ब्रत लिएका ब्रतालुहरुले आईतबार नै साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए ।
छठ पर्ब गत शनिबार देखि विधीवत रुपमा सुरु भएको हो । कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्बको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ । छठको पहिलो दिन शनिबार व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाश्यमा नुहाइ धुवाई गरेर शुद्ध भई लुसन र प्याज बेगरको चोखो शाकाहारी खाना खाएका थिए ।
सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको महान् चाड छठ पर्ब कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ ।छठ पर्बमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको छ ।
